भद्रकालीः
राजा गुणकामदेवको पालामा कान्तिपुरमा धेरै समस्या आए। लुटपाट, चोरीडकैती लगायत घटना भए। देशमा अशान्ति फैलिएर देशको रक्षा गर्न गाह्रो हुँदै आयो।
राजाले गुभाजुलाई बोलाएर अब के गर्ने होला भन्ने चिन्ता व्यक्त गरेछन्। अब देवीको शक्तिले मात्रै समस्या समाधान हुने निक्र्यौलमा पुगेपछि राजाले गुभाजुलाई कामाक्ष पठाए। त्यहाँ उनले कलशमा दैवी आत्मा कैद गरेर ल्याए।
उनले उक्त दैवी शक्तिलाई सिन्दुरेजात्रा गरेर मात्र राजधानी भित्राउनुपर्ने विचार गरे। अनि, अहिलेको नाचघरनिरको पिपलको रुखमा त्यो कलश झुन्ड्याएर उनी राजासँग सिन्दुरेजात्राको अनुमति माग्न हनुमानढोका पुगे।
झिसमिसे बिहान थियो। गुभाजु राजधानी पसिसकेका थिए। कलशबाट त फुत्त सानी बालिका निस्किएर बाहिर आइछन् र रुन पो थालिछन्। नाचघरनिर खर्पन बोकेर हिँडिरहेका एक किसान बालिकानजिकै गएछन्।
‘तिमी किन रोएको?’ उनले सोधे।
ती बच्ची केही बोलिनछन्।
‘तिम्रा बाआमा को हुन्, खै कता गए?’
बच्ची केही नबोलेपछि किसानले यताउता हेरेछन्। कोही नदेखेपछि उठाएर आफ्नो खर्पनमा राखेर खेतमा लगेछन्।
बच्ची त बीच बाटोमै निदाइन्।
खेतमा पुगेपछि खाजा र बच्चीलाई एकठाउँमा राखेर उनी खेतको काम गर्न गए। घाम माथि आइसकेपछि उनलाई भोक लाग्यो। खाजा खान जाँदा न खाजा थियो न त बच्ची नै। उनी खाजा नखाई काम गरे। साँझ घर फर्किँदा बाटोमा उनले देवी हराएको कुरा सुने। देवी हराएको खबर सहरभरी फैलिसकेको थियो।
उनले आफूले बिहान पिपलको बोटमुनि भेटिएकी बच्चीबारे सुनाए। अनि आफूले खेतसम्म लिएर गएको पनि भनेँ।
त्यसपछि ती गुभाजुसहित सबै उनको खेततिर गए।
टुकुचा किनारको मसानघाटमा मानिस जम्मा भएका देखे। त्यो अहिलेको भद्रकाली मन्दिर भएको ठाउँ थियो। त्यहाँ एक बच्ची सुतिरहेकी थिइन् जसको एकातिर घाम लागेको थियो अर्कोतिर साँझ परेको। यी देवी नै हुन् भनेर ठहर गरेपछि गुभाजुले उनलाई राजधानी जान फकाए।
देवी मानिनन्।
गुभाजुले उनलाई वर्षमा सुनको रोटी खुवाउँछु र कहीँ नभएको जात्रा देखाउँछु भनेर बाचा गरे। तर देवी त्यहीँ अलप पो भइन्।
देवी नमाने पनि गरेको बाचाअनुसार भद्रकालीलाई बर्सेनि सुनको रोटी (आजकल मकैको रोटी) खुवाउने गरिन्छ। त्यतिबेला वर्षमा एकपटक राजा र कुमारी सँगै घोडा चढेर टुँडिखेल घुम्ने चलन थियो। यही चलन पछि घोडेजात्राको रूपमा विकसित भएको हो।
त्यही बेलादेखि हरेक १२ वर्षमा भद्रकाली नाच सुरु भयो। यो जात्रामा भद्रकालीनाच पनि हुन्छ। भद्रकाली नाच्दै आएको भद्रकालीको अवतार (भद्रकालीको मुखुण्डो लगाएको गुभाजु) र राजाले मखनटोलको खड्गसिद्धीमा आफ्ना खड्ग आपसमा साट्छन्।
No comments:
Post a Comment