Saturday, September 12, 2015

जंकाे

बुढाबुढी भएपछि नेवारहरूको जंको गर्ने चलन छ। सकेसम्म परिवार, समाज र देशको लागि धेरै काम गरिसकेको हुँदा त्यसै कार्यको उच्च मूल्यांकन गरी सम्मान गर्ने र उसको सुस्वास्थ्यको कामना गर्दै लामो आयु होस् भन्ने मनसाय राखी उनीहरूबाट आशिर्वाद थाप्ने हो। साँस्कृतिक मान्यता अनुसार मनुष्य यति लामो आयु बाँचेपछि देवता सरह भएको मानिन्छ र त्यसै अवसरमा यो कार्यक्रम गरिन्छ। त्यसैले जंको गरिसकेका बुढाबुढीहरूले भनेको मान्ने कोसिस गरिन्छ। उनीहरूलाई चित्त दुख्ने काम गरिंदैन। बुढा भएसम्म बुढाको उमेर अनुसार साइत हेरेर दुबैको जंको गर्छ। बुढी मात्र रहे उनकै उमेर अनुसार साइत हेरेर जंको गर्छ। तर पहिला बुढासँगै जंको गरिसकेको छ भने फेरि गर्नु पर्दैन। थरीथरीको बुढाजंको हरू यसरी मानेर आएको देखिन्छ:

क) भीम रथारोहण(पहिलो जंको )- उमेर: ७७ साल, ७ महिना, ७ दिन, ७ घडी, ७ पला। ख) चन्द्र रथारोहण(दोश्रो जंको )- जन्म भएर एक हजार पटक चन्द्रमा दर्शन हुने बेलाको साइतमा ८२ बर्षको उमेरमा लाख बत्ती बालेर गरिन्छ। ग) देव रथारोहण(तेश्रो जंको )- उमेर: ८८ साल, ८ महिना, ८ दिन, ८ घडी, ८ पला। यस बेला जंको गरिएको बुढा वा बुढीलाई रथयात्रापछि झ्यालबाट भित्र्याइन्छ। घ) दिव्य रथारोहण(चौथो जंको )- उमेर: ९९ साल, ९ महिना, ९ दिन, ९ घडी, ९ पला। यस बेला सम्म बाँचिरहने बुढाबुढीलाई नयाँ घ्याम्पोमा राखेर घ्याम्पो पूजा गरिन्छ। त्यसपछि फेरि बच्चा जन्मेको भावले घ्याम्पो फुटालेर निकाल्ने गरिन्छ । यसबेला पांग्रा भएको रथमा राखेर घुमाउन लैजान्छन् । नाति पतातिहरूले रथ तान्ने र छोरा छोरी ज्वाँईहरूले लावा अबिर छर्कने गर्छ । यस बेलाको रथलाई दिव्यरथ भन्दछन्। ङ) महादिव्य रथारोहण(पाँचौं जंको )- उमेर: १०८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पला । अष्टमा टेकेको बेला केही अनिष्ट नहोस् भन्ने कामना गरेर यसबेलाको रथलाई महादिव्य रथ राखिएको छ।

No comments:

Post a Comment