Tuesday, September 15, 2015

पाेडे जाति

  मृत्यु प्राणीले जन्मंदै साथमा लिएर आएको हुन्छ। मृत्युलाई टार्न, जित्न र छल्न कसैले पनि सक्दैन। त्यसैले धार्मिक ग्रन्थहरू खासगरी हिन्दू वा बौद्ध दर्शनले जन्मलाई नै मृत्युको प्रमुख कारक मान्दछन्भने मुस्लीम धर्मले जन्म मृत्युकै लागि हुने ठान्दछ। मानव सामाजिक प्राणी भएका कारणले प्रत्येक समाजमा जन्मेको मानिसको मृत्यु एक दिन निश्चित छ र मृत्यु संस्कार सम्पन्न गर्ने विधि विधानहरू भने जातीय धर्म एवं संस्कृतिअनुसार बेग्लै हुने गर्दछन्।
    विभिन्न जातिहरूको आ―आफ्नै किसिमबाट मृतकको अन्त्येष्टि कार्य गर्ने परम्परा हुन्छ। पोडे जातिमा पनि आफ्नै विविध धार्मिक, सांस्कृतिक विधिद्वारा शवको अन्त्येष्टि कार्य गर्ने चलन छ। पोडे जाति नेवार समुदायको जाति भएको कारणले यस जातिको मृत्यु संस्कारसम्बन्धी कार्य गुठीमार्फत् नै हुने गर्दछ। मृत्यु संस्कारका कार्य गर्ने गुठीलाई सि वा सना गुठी भन्ने गर्दछन्। 
    सी वा सना गुठीको सदस्यको मृत्यु भएमा गुठीहरूले मृत्यु संस्कारका विधिहरू पूरा गर्न सहयोग पुर्‍याउँदछन्। मृत्यु संस्कारका लागि आवश्यक सामग्री पनि गुठीयारहरूले नै किनेर ल्याउने वा जुटाउने किनेर ल्याएको सामानहरूको पैसा भने मृतक परिवारले व्यहोर्ने गर्दछन्। मृतकलाई बाँसको खाटमा हालेर घाटसम्म लाने काम पनि गुठीयारहरूले नै गर्दछन्। मृतकको घरको परिवार सदस्यमध्ये एकले मृतकको लुगाफाटा, सुकुल, कुचो आदि परम्परागत फोहोर फ्याक्ने (छ्वास फाल्ने) स्थानमा लगेर फ्याँक्ने परम्परा पाइन्छ। छ्वास फालेको स्थानबाट पोडे जातिभन्दा तल्लो जात च्यामे, हालहुले सो उठाएर लैजान्छन्। मृतकको घरबाट छ्वास फाल्ने कार्य पूरा भएपछि लास उठाएर समसान घाट लाने गर्दछन्। लास उठाउनुभन्दा पूर्व लासलाई एउटा पिताम्बरले बेर्दछन् र सो माथि सेतो कपडाले ढाकी अन्त्यमा गुठीबाट ल्याएको रातो रङ्गको कपडा जसलाई देवँः भनिन्छ त्यसले छोप्ने गर्दछन्। घुम, पूजाको सामान, हाँडी, भिगुट, सानो घैटो, पराल आदि मृत कार्यका लागि आवश्यक सामानहरू लास अगाडि सिजामा राखेर घाटसम्म लग्दछन्। मृतकको दाह संस्कार सकिएपछि बाँकी रहेको खरानी नदीमा सेलाएपछि अन्य सामानहरू पनि मसानमा नै सेलाउने परम्परा भए तापनि सिजा र देवँः सेलाइँदैन। किनकि सिजा र देवँः अन्य गुठी सदस्यको मृत्यु संस्कारमा पुनः प्रयोग गरिन्छ। गुठी सदस्यको मृत्यु संस्कारमा उपस्थित नहुने गुठीयारहरूलाई केही रकम जरिवाना गर्दछन्। थाहा पाएर नजाने गुठी सदस्यलाई बढीमा रु. ५००।– जरिवानास्वरुप दण्ड रकम गुठीका नाइकेले असुल गर्दछन्। मृत्यु संस्कारमा मृतकको छोरीको भूमिका मुख्य हुन्छ। छोरीले मृत्युको खबर पाएपछि उपस्थिति नभएसम्म लास उठाउने गरिदैन। छोरीले लासअघि धान छरेर मसान घाटसम्म रुँदै जाने परम्परा यो समुदायमा पाइन्छ।

2 comments:

  1. छैठौं दिन मृतकको घरमा आफन्तहरू छोरा, दाजु भाइ, आदिले कपाल मुण्डन गर्ने गर्दछन्। जसलाई सँ खाय भन्ने गरिन्छ। सोही दिन राती मृतकको घरमा छ दिनको भात दिने कार्य हुन्छ। भात दिँदा भान्छा कोठामा पातमा राखेर पाकेका सम्पूर्ण खाद्य पदार्थहरू पनि छुट्याउने गर्दछन्। भात छुट्याउने व्यक्तिले त्यसदिन बिहानदेखि मुखमा पानीसमेत नहाली चोखो बस्नुपर्दछ। तर भात छुट्याएपछि भने खानपिन खुला हुन्छ। छोरीलाई ७ दिन जुठो लाग्दछ। सात दिन भरी नुन, मास, गोलभंेडा, भटमास, दाल, फूल आदि खाने गर्दैनन्। छोराले भने बाबु भए दही र आमा भए दूध एक वर्षसम्म बार्नु पर्दछ।
    सातौं दिनमा गुठियार आफ्नो नातासम्बन्धीहरूलाई बोलाई मृतकको नामबाट भोज खुवाउँदछन्। ६ दिनको दिन मृतकका घरका सम्पूर्ण लुगाफाटाहरू धोएर चोख्याउने चलन रहेको छ। यसैअनुरुप १३ औं दिन, ६ महिना, १ वर्ष , ३ वर्षमा गरिने श्राद्ध आदि कार्यहरू गर्दा पनि घरका सम्पूर्ण लुगाफाटा धोएर चोख्याउने गर्दछन्। वर्षे कार्य सिद्धिएपछि तेस्रो वर्षलाई अन्तिम मानी मृतकको नाममा विभिन्न संस्कारहरू गर्दछन्। तर हिजोआज सम्पन्नहरूले भने वर्षैपिच्छे मृतकको नाममा विभिन्न संस्कारहरू गर्न थालेका छन्। १६ श्राद्ध तिथि भने कमैले मात्र गर्दछन्। यदि मृतकको गुठीबाहेक अन्य नाता सम्बन्ध नभए मृत्यु संस्कारमा गरिने दाहा संस्कार गुठीले नै गरिदिने परम्परा पाइन्छ।
    ५.२.५ धार्मिक जीवन
    पोडे जाति हिन्दू धर्म मान्ने जाति हो। यिनीहरूको दैनिक दिनचर्या पनि हिन्दु धर्मावलम्बीहरूसँग बढी भइरहने कारणले पनि हिन्दु धर्म संस्कारप्रति बढी झुकाव भएको हुनसक्दछ। यहाँका पोडे जाति नासद्योलाई प्रमुख देवता मान्दछन्। नासद्यो नृत्य वा नाचका देवता हुन्। यिनको पूजा आज धुमधामका साथ हुने गर्दछ। कुनै पनि चाडपर्व वा शुभ साइतको काम गर्दा नासद्योको पूजा पहिले गर्दछन्। नासद्यो अलावा लक्ष्मी, गणेश, पिगँ माई आदिको पूजा यस टोलका पोडे जातिहरूले विशेष रुपमा गर्ने गर्दछन्। यस समुदायमा आफ्ना देवताहरूलाई हाँस, कुखुरा, बोका, राँगा, सँुगुर आदिको बली दिने चलन छ। पिगन माईको पूजा गर्दा सँुगुरको बोसोबाट रातभरि बत्ती बालेर पूजा गर्ने परम्परा रहेको छ।
    उच्च हिन्दू जातिहरूले लगाउने सत्यनारायणको पूजा पनि आजकल यहाँका पोडे जातिहरूले लगाउने गर्दछन्। स्थानीय एक वृद्ध पोडेकाअनुसार यहाँ विभिन्न समयमा रातभर सत्यनारायणको पूजा लगाउने गरेको बुझिन्छ। घर चोख्याएर दिनभर व्रत बसी राती नारायणको कथा सुन्ने र सबैलाई प्रसाद बाँड्ने गरेको कुरा स्मरण गर्दै पहिले हामीकहाँ अछुत जात भनेर पूजा लगाउन पुरेतहरू आउने नगरेको भए तापनि हिजो आज हामीकहाँ पुरेतहरू पूजा गर्न आए बापत धेरै दान दक्षिणा पाउने कारणले सजिलैसँग पूजा गर्न ब्राह्मणहरू आउने गर्दछन् भन्ने जानकारी स्थानीय एक व्यक्तिले दिएका छन्। यिनीहरूको धार्मिक क्रियाकलापमा आर्थिक सम्पन्नता विपन्नताले ठूलो प्रभाव पारेको छ। आर्थिक स्थिति बलिया भएका पोडे जातिहरूले अन्य उच्च जातहरूले जस्तै विभिन्न धार्मिक कार्यहरू (पाठ, पूजा, व्रत) सम्पन्न गर्ने गरेको पाइन्छ।

    ReplyDelete
  2. पोडे जाति समुदायमा खासगरी बिरामीलाई उपचार गर्ने परम्परामा वृद्धहरूमा धार्मिक विचारधाराले ठूलो प्रभाव पारेको देखिन्छ। यस जातिमा बिरामीले उपचार गर्दा सर्वप्रथम कुनै दोष वा बिगार छ कि भनेर वैद्य कहाँ लग्ने, धामीलाई देखाउने गर्दछन्। यदि दोष वा विगार भएका बैद्य र झारफुकेका अनुसार देवी देवताको पूजाआजा गर्ने चलन छ। तर हिजोआजका आधुनिक पुस्ताले भने यो विचारधारालाई विस्तारै छाड्दै गएको पाइन्छ। धार्मिक परम्पराअनुसार बिरामी उपचार गर्न जाँदा कुखुरा, धुप, बत्ती, अक्षता आदि लिएर जाने गर्दछन्। ब्रह्मण, क्षेत्री, भोटे जातको झाँकी लगाई उपचार गराएमा उनीहरूले माग गरेअनुसार सामग्रीहरू लिएर पूजाआजा गर्दछन्।
    यो जाति परम्परादेखि विभिन्न धार्मिक स्थलहरूमा कुरुवा, पाले आदि बस्ने गर्दथे। पोडे जातिहरूले काठमाडौं उपत्यकाको विभिन्न ठूलो धार्मिक पीठहरू जस्तै भद्रकाली, शोभा भगवतीको लुटी अजिमा (इन्द्रायणी), पकनाजोल गणेश, टंकेश्वरी, मैतीदेवी, सूर्यविनायक, ठिमी बालकुमारी, बोडे अजिमा, पिगन स्थान आदि जस्ता मठमन्दिर एवं पीठहरू पालो (पुजारी) बसी धर्म कर्मको क्षेत्रमा पनि अग्रणी भूमिका निर्वाह गर्ने गरेको बुझिन्छ। यस टोलका पोडे जातिको गुठीले विभिन्न देवदेवीमा पूजा चलाउन तिरोस्वरुप रकम, सरसामान आदि पठाउने परम्परा रहेको छ। तलेजु भवानीलाई दशंैको नौरथामा ठूलो ढक्की र माना हिले माछो प्रत्येक वर्ष चढाउने परम्परा रहेको छ। हाल हिले माछाको सट्टा रुपैयाँ नै पठाउने गरेका छन्। यसबाहेक पेसाअनुसार मठ मन्दिरहरू सफासुग्घर गरी भक्तजनहरूलाई स्वच्छ वातावरणमा धार्मिक कार्य सम्पन्न गराउने कार्यमा समेत यिनीहरूको सकृय सहभागिता हुने गर्दछ।

    ReplyDelete