Wednesday, September 16, 2015

नाय् भिद्यं

नेपालमा जहाँ–जहाँ नेवार बस्ती छन् त्यहीँ त्यहीँ भिंद्यः भीमसेनको मूर्ति स्थापना गरिएको देखिन्छ । नेवारी व्यापारीहरूले व्यापार गर्ने स्थान पसलमा भिंद्यः भीमसेनको मूर्ति वा तस्बिर राखेर दिनहुँ पूजा गरेपश्चात् व्यापारको सुरुवात गर्छन् । यसरी भीमसेनको पूजा ग¥यो भने व्यापार वृद्धि हुन्छ भन्ने जनविश्वास छ । नेवारीहरूले यसरी धनलाभको कामना गर्दै पूजा गरिने भीमसेन महाभारतको भीमसेन होइन । यो त हिन्दूहरूले हिन्दूकरण गरेर नेवारहरूले मान्दै आएको भिंद्यः भीमसेनलाई महाभारतकालीन भीमसेन भनी प्रचार गरेको मात्र हो । वास्तवमा सबैलाई शुभलाभ गराउने, सबैलाई शुभकर्म गराउने र सबैलाई धनलाभ गराउने असल देवता नै भिंद्यः हुन् । नेवारी भाषामा भिंको अर्थ शुभमंगल हो भने द्यः को अर्थ देवता हो । पछि गएर धार्मिक अतिक्रमण र अज्ञानतावश महाभारतको भीमसेन हुन् भनी भनिएको अनुमान गर्न सकिन्छ ।

हरेक वर्ष पाटनमा भिंद्यःको जात्रा गरिन्छ । कृष्णाष्टमीको भोलिपल्ट अर्थात् भाद्र कृष्ण नवमीका दिन भिंद्यः भीमसेनको खट जात्रा गरिन्छ । मंगलबजारबाट निकालिने भीमसेनको खट जात्रामा नगरा, भुस्या, सिंतालगायत बाजाका तालमा हःखा, सौग, लुँहिती, बकुवहाः थैना, थाँहिती, चक्रवही तंगः, इखाछेँ, तिछुं गल्ली, इखालखु, बालाखा, बला पूर्ण चण्डी, गाः बहाः, पिम्बहाः, नकबही क्वाः लखु आदि टोलहरूमा घुमाएर नगर परिक्रमा गराई मंगलबजारमै ल्याएर जात्राको समापन गरिन्छ । भीसमेनको जात्रामा पाटनका सबै व्यापारीहरू ठूलो संख्यामा सहभागी हुन्छन् । पाटनका जति पनि व्यापारी, उद्योगपतिहरू छन्, ती सबैले भीमसेनलाई व्यापक रूपमा मान्दै पूजा गरेर जात्रामा सहभागी हुने गर्छन् र जात्राका लागि आवश्यक सम्पूर्ण क्रियाकलापका लागि सहयोग पनि जुटाउँछन् । गाउँगाउँदेखि पनि उद्योगी र व्यापारीहरू आएर भीमसेनलाई मान्ने गर्छन् ।

पाटनमा प्रसिद्ध चार भीमसेन छन् । हुन त नेवारबस्ती जहाँजहाँ छ, त्यहाँत्यहाँ भीमसेनको मूर्ति स्थापना गरेर पहिलेदेखि नै पूजा गर्दै आएको देखिन्छ । तर पाटनमा विशेष गरेर मंगलबजारका भीमसेनलाई मुख्य भीमसेनका रूपमा लिँदै आए तापनि सुन्धाराका नृत्य नायः भिंघः, छाय्बहालका गुप्तवास बसेका भिंद्यः र च्यासलका भिंद्यःलाई वनवासी भीमसेनका नामले मान्दै आएको देखिन्छ । वनवासी भीमसेनलाई पञ्चपाण्डवका भीमसनेसँग सम्बन्ध राखी मान्दै आए पनि भीमसेनलाई राँगा, बोकाका साथै पञ्चबलि र जाँडरक्सीसहित पूजा गरिँदै आएकाले पञ्चपाण्डवको भीमसेन भन्नु सही ठहर्दैन ।

2 comments:

  1. हिन्दूहरूले नेवारहरूका भिंद्यःलाई हिन्दूकरण गरेर भीमसेन भने पनि नेवारहरूको मौलिक देवता, उद्योग, व्यापारमा सघाउने भएरै भिंद्यः भनी मान्दै आएको हो । मंगलबजारको भिंद्यःको मूर्ति प्रतिष्ठापन गर्दा जनश्रुति अनुसार ने.सं. ८०१ मा राजा श्रीनिवास मल्लले फागुन चर्तुदशीका दिन भिंद्यःको मन्दिर कलशसहित स्थापना गरेको रहेछ । तर भिंद्यःको मूर्ति नै भने रहेनछ । पछि राजा श्रीनिवासका छोरा राजा योगनरेन्द्र मल्ललाई भिंद्यःको ठूलो मूर्ति बनाई स्थापना गर्ने मनमा आएछ । अनि मूर्तिकारलाई जति विवरण बताएर मूर्ति बनाउन दिए पनि आफूले भनेजस्तो र आफूले मनमा चिताएजस्तो मूर्ति नबनाएकाले राजाले मूर्तिकारलाई नै रिसले दाहिने हात मुठ्ठी कसेर उचालेर पिट्न खोजेको रहेछ । कलाकारले पनि राजाले आफूलाई पिट्न खोजेको मुद्रामा नै भिंद्यःको मूर्ति बनाइदिएछ । अनि मात्र राजाको चित्त बुझेको हो भनिन्छ । यस प्रकार तयार भएको भीमसेनको मूर्तिलाई अपव्याख्या गरी हिन्दूहरूले हिन्दूस्थानको प्रभावमा परेर दुस्शासनलाई पाण्डवका भीमसेनले मुक्का हान्न लागेको हो भन्ने गरियो ।

    काठमाडौंको भीमसेनस्थानका भीमसेनको मन्दिर ने.सं. २६० तिर ठकुरी राजा जयराम मल्लका वंशज थकु जुजुले स्थापना गराएका हुन् भनिन्छ । एउटा भनाइअनुसार दोलखाकी राजकुमारीको विवाह काठमाडौंका राजकुमारसँग हुँदा एकजना कामदार दाइजोमा पठाएको रहेछ । त्यस समयमा यहाँ आँँखाले नभ्याउने धेरै जग्गा जमिन खेतको फाँटैफाँट थियो । राजकुमारीलाई सेवा गर्न पठाइएको त्यो कामदारलाई खेतको काम गर्न पठाएको रहेछ । भीमसेनस्थानदेखि छाउनीसम्म खेतको फाँट मात्र थियो । एकदिन थकु जुजुले त्यस कामदारले कतिसम्म काम गरिरहेको होला भनी हेर्न जाँदा त्यो कामदार त मस्तले निदाइरहेको देखेर गाली गरेछ । अनि त्यो कामदारले पनि राजालाई एकपटक आँखा चिम्लिन लगाएर देखाउँदा त्यो खेतको फाँटमा धान फलिरहेको देखेछ । यस्तो आश्चर्य लाग्दो दृश्यदेखि थकु जुजुले यो ज्यामी त साधारण मानिस होइन भनी माफी मागी सोधखोज गर्दा त्यो कामदारले आफू दोलखाको भीमसेन हो भन्ने रहस्योद्घाटन गरी अलप भएछ । पछि राजा प्रताप मल्ले ने.सं. ७७५ मा भीमसेनको मन्दिर स्थापना गरी ज्यापु जातका पुजारी राखेका रहेछन् । १२ वर्षमा एकपटक भीमसेनलाई बौद्ध लोकेश्वरलाई जस्तै तान्त्रिक पद्धतिअनुरूप महास्नान गरी महिना दिन गुप्तवास राख्ने गरियो । हरेक वर्ष माघ शुक्ल एकादशीका दिन भीमा एकादशी भनी भीमसेनको व्रत बस्ने र भोलिपल्ट भव्यरूपमा मान्दै भीमसेनलाई पूजा गर्ने गरियो । भीमसेनलाई समयबजी चढाइरहेको समयमा भोकाएका भीमसेनले कालो भटमास खाँदा थोचिएकाले भन्ने जनश्रुति सुनिन्छ ।

    ReplyDelete
  2. दोलखाका भीमसेन उत्पत्ति भएको विषयमा पनि एउटा अनौठो आख्यान छ । तिब्बतमा व्यापार गर्न जाने सिलसिलामा १२ जना नेपाली व्यापारीहरू गइरहेको बेला बीचबाटोमा बास बसेछन् । ती व्यापारीहरूले तीनवटा ढुंगामाथि भात पकाइरहेको बेलामा भाँडाको एक छेउमा भात काँचै भइरहेको देख्यो । भोकाएका व्यापारीहरूले रिसले त्यो ढुंगामा पनिउले हिर्काउँदा ढुंगाको एक टुक्रा चोइटिएर दूध र रगत बगेको देखे । ती व्यापारहरू डराएर यो ढुंगा त देवता रहेछ भनी क्षमा माग्दै त्यहाँबाट अघि बढ्ेछन् । उनीहरू बाटोमा जाँदै गर्दा एक जना निधारमा घाउ लागेका बुढो जोगी आएर त्यो ढुंगा असल देवता भिंद्यः हुन् डराउनु पर्दैन भनी अलप भएछन् ।

    त्यसपछि ती व्यापारीहरूको व्यापार दिनदिनै धेरै वृद्धि भएर व्यापार राम्रो भएछ । यसबाट प्रभावित भई ती व्यापारी बिगु गाउँका श्रेष्ठहरूले हरेक वर्ष दसैँका बेलामा पूजा गरेर १२ वटा बोका र सुँगुर बलि दिँदै आएको हो । दोलखाको नेवारी भाषाअनुसार दुवाकुल खः अर्थात् ढुंगाको पर्खाल ढोकाले घेरिरहेको र दोलखाको तिब्बती भाषामा दालख ढुंगा वा घरबाट नै दोलखा हुन गएको हो भनिन्छ ।

    एउटै शिलाका दोलखा भीमसेनलाई तीन अवतार भएका देवताका रूपमा मानिन्छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म भगवती, दिउँसो २ बजेदेखि नाट्येश्वर नासघःका रूपमा अनि बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान १० बजेसम्म व्यापार वृद्धि गर्ने भिंद्यःका रूपमा मान्ने गरिन्छ । यसरी दिनमा ३ पटक रूप परिवर्तन गर्ने दोलखाको भीमसेन अत्यन्तै महत्वले भरिएको देवताको रूपमा सबैले मान्ने गर्दछन् । कालो स्लेटजस्तो तीनकुने आकारका भीमसेनलाई पञ्चवलि दिएर पूजा गरिन्छ । मन्दिरका पछाडि काठको लामो लिङ्गो चुँडामणि चुल काप्सि देवताको शक्ति रहेको छ भनी मान्ने चलन छ । एउटा शिलामा तीन अवतारका रूपमा विशेष पूजा गरिँदै आएका भीमसेनलाई देशमा कुनै पनि ठूला अनिष्ट, विध्वंस, वाधा आउन लाग्यो भने पसिना आउँछ । यसरी पसिना आउँदा पूजारीले पसिना पुछेको कपास प्रसादका रूपमा नारायणहिटी दरबारमा पठाउने र दरबारबाट क्षमापूजा पठाउने चलन छ । यसरी ठूला अनिष्ट भएको तथ्यांक अनुसार वि.सं. २०१७ सालमा प्रजातन्त्र हनन, २०११ सालमा राजा त्रित्रुवन र २०२८ सालमा राजा महेन्द्र दिवंगत हुनुअघि दोलखा भीमसेनको मूर्तिमा पसिना आएको थियो भनी विज्ञहरूले भन्ने गर्छन् । त्यस्तै वि.सं. २०४६ सालको जनआन्दोलन, २०५८ जेठ १९ गतेको राजदरबार हत्याकाण्ड हुनुअघि पनि दोलखा भीमसेनलाई पसिना आएको थियो भनिन्छ ।

    ReplyDelete