Wednesday, September 16, 2015

दशै र जमरा जाै काे महत्त्व

हिन्दुहरुको महानचाड बडादशैं आज घटस्थापना गरी घरघरमा जमरा राखिएको छ ।

घटस्थापनाको दिन हिन्दू धर्मावालम्बीहरुले आ-आफ्ना पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश, देवीको पूजा गरी जौ, मकै लगायतका अन्न रोपेर जमरा राख्ने चलन छ । देवीको आराधना गरेर राखिएको जमरा विजयादशमीका दिन टिकासँगै लगाइन्छ ।

विहान जमरा राखेपछि हिन्दुहरुले घरघरमा र मठ मन्दिरमा पनि दैवी शक्तिका शप्तसति चण्डी पाठ गर्ने चलन छ ।

बडा दशैको प्रसाद जमराको वैज्ञानिक महत्व

बडादशैंको पहिलो दिन दशै घरमा घटस्थापना गरी नदीको बालुवा राखेर जौ छरिन्छ । त्यसपछि नवरात्रभरि शक्तिको प्रतीक देवी दूर्गा भवानीको नौ विभिन्न स्वरुपको पूजा गरिन्छ । यसरी मातृशक्तिको आह्वान, आराधना गर्दै दशैं घरमा उमारिएको जमरा विजयादशमीको दिन आफ्ना कुलदेवताहरुलाई अर्पण गरी प्रसादस्वरुप टीकासहित लगाउने परम्परा छ ।

संस्कृतमा यव भनिने जौ पौष्टिक खाद्यपदार्थ हो । जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधी मानिन्छ । वैदिक ग्रन्थहरुमा जौलाई रोग हटाउने यज्ञ-यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्न अन्नका रुपमा लिइएको छ । यज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिन्छ । पौराणिक ग्रन्थहरुमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा मानिएको छ ।

गीतामा भगवान श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात औषधीहरुमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्त्व पुष्टि हुन्छ । श्रीमदभागवत महापुराणमा पनि वामन अवताररुपी भगवान विष्णुको पूजा गर्दा लोकपालहरुले जमरा चढाएको प्रसंगबाट के बुझन सकिन्छ भने हिन्दु संस्कृतिमा जमराको महत्व परापूर्वकालदेखि नै थियो ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्व कम छैन । आयुर्वेदिक ग्रन्थहरुमा जौ र अंकुरित जौबाट गर्न सकिने उपचारहरुको व्यापक उल्लेख भएको पाइन्छ । विविध रोगका लागि जौ उपयुक्त रहेको वैज्ञानिकहरुले पनि पुष्टि गरिसकेका छन् । चिकित्सकहरुका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्न हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ । जमराको रसको सेवनले सौन्दर्यता समेत निखार ल्याउँछ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरुलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले शरीरमा चाँडै शक्तिसञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।

हाम्रा गाउँघरमा अझै पनि दसैंको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अनुसन्धानअनुसार अंकुरित जौ सम्पूर्ण आहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो । अन्य हरिया सागपातमा भन्दा जौ वा अंकुरित जौमा पौष्टिक तत्व तुलनात्मकरुपमा बढी पाइन्छ । भारतीय चिकित्सकहरुले समेत जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरुको सफल उपचार गरिसकेका छन् । प्रशस्त औषधीय गुण पाइने हुनाले पनि अंकुरित जौलाई विजयादशमीको प्रसादका रुपमा प्रयोग ल्याइएको हुनुपर्छ ।

No comments:

Post a Comment