Thursday, September 10, 2015

रावणकाे भाई अहिरावण

रामायणमा उल्लेखित राम रावणको युद्ध सत्य र असत्यको बीचको धर्म युद्ध थियो। सत्यको पक्षधर भएको कारणले रामको विजय निश्चित थियो तापनि रावणलाई कम मूल्याङ्कन गर्नु पनि राम्रो होइन। रावण एक कुशल योद्धा थियो र ऊ समान विद्वान र युद्ध विद्याको ज्ञाता अरू कोही थिएन। उसको परिवारमा ऊ बाहेक अरू पनि युद्धकौशलका जानिफकार थिए, तथापि अधर्मको बाटो रोज्नु नै रावणको पतनको एकमात्र कारण थियो। भनिन्छ कि राम-रावणको युद्धको समयको एक घटना यदि निर्विघ्न घटेको भए रावणको पराजय करीब असम्भव नै हुने थियो। या भनौँ रावणको आतंकको समाप्त हुने नै थिएन। यो त्यति बेलाको कुरा हो जब रावणको छोरा मेघनाद युद्धमा मारीयो। त्यो प्रसङ्ग यसरी प्रस्तुत भएको पाइन्छ।

उक्त घटना अहिरावणसँग सम्बन्धित छ। कतिपय किम्बदन्ती तथा कथाहरूमा अहिरावणलाई रावणको भाईको रूपमा लिइएको पाइन्छ भने कुनै कथाहरूमा पुत्रको रूपमा पनि चित्रण भएको पाइन्छ। कतिपय कथामा उसलाइ महिरावण पनि भनिन्छ भने कतै त अहिरावण र महिरावण दुवैलाई दाजुभाईको रूपमा पनि रूपमा पनि चित्रण गरेको पाइन्छ।

पुत्रवियोगले विक्षिप्त रावणलाई उसका परिवारका सदस्यहरूले युद्ध रोकी आफ्नो कुलको विनाशको बाटो छोड्न अनुनय गरे तर रावणले मानेन। उसले आफ्नो भाइ अहिरावण, लाई बोलायो र सबै घटना सबिस्तार बतायो। रावण जस्तै अहिरावण पनि ठूलो तपस्वी थियो। उसले कालीको आराधना गरेर धेरै सिद्धीहरू पनि हासिल गरेको थियो। ऊ कैयन मायावी शक्तिको धनी र एक कुशल तान्त्रिक पनि थियो।

सीता-हरणको बेलामा अहिरावणले देखाएको असन्तुष्टीको रावणलाई स्पष्ट सम्झना थियो। आफ्नो वाक-कौशलताले उसले अहिरावणलाई राम लक्ष्मणको वलिबाट कालीलाई प्रसन्न गर्न सकेमा अजेय बन्न सकिने कुरामा विश्वास दिलायो। आफू अजेय बन्न सक्ने उन्मादमा अहिरावणले पनि युद्धमा रावणको सहयोग गर्ने वचन दियो।

जब विभिषणले रावण-अहिरावणको वार्ताको भेउ पाए, उनलाई चिन्ता हुन थाल्यो। विभिषण अहिरावणको मायावी शक्तिसँग परिचित थिए। उनले राम-लक्ष्मणको समूहमा सबैलाई अहिरावणको बारेमा जानकारी दिए र हनुमानलाई राम-लक्ष्मणको सुरक्षाको उत्तरदायित्व लिन आग्रह गरे। हनुमानले राम-लक्ष्मणको बासस्थानको सुरक्षाघेरा बलियो बनाए र पहरा दिन थाले।

अहिरावण आफ्नो दुष्ट उद्देश्यकासाथ राम-लक्ष्मणको बासस्थानतिर गयो। सुरक्षा घेरामा हनुमानलाई देखेको अहिरावणलाई हनुमानको शक्तिको राम्रो जानकारी थियो। ऊ कुनै पनि युद्ध नगरिकन राम-लक्ष्मणलाई बलिको लागि लैजान चाहन्थ्यो। उसले बिभिन्न प्राणीहरूको रूप धारण गरेर राम-लक्ष्मणको बासस्थान तिर प्रवेश गर्ने कोशिश गऱ्यो तर सफल भएन। अन्त्यमा उसले एक चाल चल्यो र विभिषणको रूप लिएर हनुमान भए छेउ आयो र राम-लक्ष्मणको सुरक्षा घेराको बारेमा जिज्ञासा व्यक्त गऱ्यो। हनुमानले पनि विभिषणको रूपमा आएको अहिरावणलाई चिन्न सकेनन भित्र प्रवेश गर्ने अनुमति दिए। अहिरावण राम-लक्ष्मणलाई निद्रावस्थामै सम्मोहीत गरेर पाताल तिर लिएर गयो। बिहान राम-लक्ष्मणलाई बासस्थानमा नदेखेर राम-सेनामा हाहाकार मच्चियो। पछि विभिषण र हनुमानलाई अहिरावणको छलको बारेमा ज्ञात भयो र बिभिषणको निर्देशनानुसार हनुमान पनि पाताल तिर गए।

पातालद्वारमा हनुमानको भेट मकरध्वजसँग भयो। पाताल राज्यको द्वारपालको रूपमा नियुक्त मकरध्वज हनुमानलाई आफ्नो पिता मान्दथ्यो। मकरध्वजले हनुमानलाई उसकी माताले हनुमानको शरीरबाट निस्केको अंश ग्रहण गरेका कारणले उसको जन्म भएको र उसको पिता हनुमान भएको कुरा सुनायो। हनुमानले आफ्नो परिचय मकरध्वजलाई गराए र आफू त्यहाँ आउनुको प्रयोजन बताए। मकरध्वज आफ्नो कर्तव्य पालनको लागि हनुमानसँग युद्ध गर्न तयार भयो, पिता-पुत्र युद्धमा हनुमानको सामु उसको केही चलेन उसले आफ्नो पराजय स्वीकार गऱ्यो र कालीको मन्दिरमा राम-लक्ष्मणको बलीको तयारी भइरहेको जानकारी हनुमानलाई दियो।

तत्पश्चात हनुमानले मौरीको भेषमा कालीको मन्दिरमा प्रवेश गरे र माता कालीसँग के साँच्चै नै उहाँ राम-लक्ष्मणको बली चाहनुहुन्छ भनेर सोधे। काली माताले दुष्ट अहिरावणको बली चाहेको कुरा हनुमानलाई व्यक्त गरीन्। हनुमानले पनि काली माताको ईच्छा पुरा गर्ने वचन दिए र मौरी कै भेषमा रामको कानमा अहिरावणको बली दिने उपाय बताए। जसै बलीको समय आयो, अहिरावणले राम-लक्ष्मणसँग बलिवेदीमा आफ्नो शीर राख्न भन्यो। रामले आफू क्षत्रिय भएको र कसैको सामुन्ने आफ्नो शीर ननिहुराएको कुरा व्यक्त गरे। साथै अहिरावणलाई नै एक पटक कसरी शीर कहाँ राख्ने भन्ने कुरा देखाइदिन अनुरोध गरे।

1 comment:

  1. अहिरावणले आफ्नो शीर बलिवेदीमा राख्यो र त्यसै बेला हनुमान आफ्नो असल रूपमा प्रकट भए र तरबारले अहिरावणको शिरोच्छेदन गरे। अहिरावणको मृत्यु पछि, राम तथा हनुमानले मकरध्वजलाई पाताल लोकको राजा बनाए र युद्ध भूमी फिर्दा भए। पुत्र वियोग पछि भातृवियोगसमेत परेको रावण त्यसपछिको युद्धमा रामद्वारा पराजित भयो र राम-लक्ष्मण सीताका साथ अयोध्या फर्के।

    ReplyDelete